बझाङ — जिल्लाको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै मातहतका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिएको हो ।
गाउँपालिकाले असार ३० गतेको बैठक निर्णयअनुसार हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानअनुसार करार सेवाको नवीकरण प्रक्रिया अघि नबढाइने बताएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरण नहुने भएकाले करार कर्मचारीहरूलाई हाजिर नगराउन भनिएको हो।
गाउँपालिकाको निर्णयसँगै करार सेवामा कार्यरत कर्मचारीहरूले वैकल्पिक व्यवस्थाको तयारी गर्नुपर्ने देखिएको छ। स्थानीय तहमा स्थायी दरबन्दीमार्फत दक्ष जनशक्ति परिचालन गरी सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिकाले स्पष्ट पारेको छ।
                    
                                        
                                                                                                
        








        




























