अछाम— जिल्लामा एक निर्माण व्यवसायीमाथि वडाध्यक्षसहितको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय ठेकेदार कर्णबहादुर बुढामाथि मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नेतृत्वमा नौ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।
गत असार २२ गते दिउँसो सदरमुकाम मंगलसेनस्थित सनसाइन प्लाजा होटेलमा ठेकेदार बुढामाथि खुकुरी, फलामको रड, नक, मुक्का र लात प्रहार गरिएको थियो। कुटपिटबाट बुढाका दुई वटा दाँत भाँचिनुका साथै उनको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।
घटनापछि असार ३० गते मात्र पीडित बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले वडाध्यक्ष झंकर भाट र मदन बिष्टलाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य सात जना अझै फरार रहेका छन्।
पक्राउ परेकामाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ। अनुसन्धानका लागि जिल्ला अदालत, अछामबाट तीन दिनको म्याद थप गरिएको छ। कुटपिटमा संलग्न वडाध्यक्ष झंकर भाट, बल भाट, कमल भाट, मदन बिष्ट, विष्णे कठायत र अन्य चार जना रहेका छन्।
लेनदेनको विवाद भएपछि कुटपिटमा परिणत हुनसक्ने प्रहरी आशंका छ। प्रहरीले फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ।
                    
                                        
                                                                                                
        








        




























