काठमाडौं — कोठा भाडामा लिएर अवैध रूपमा लागुऔषध कारोबारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले काठमाडौं उपत्यकामा विशेष निगरानीपछि उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुमा मोरङको बेलबारी नगरपालिका–३ की ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदमबहादुर मेहता छन्।
ब्यूरोका प्रवक्ता एसपी जनकबहादुर शाहीका अनुसार उनीहरूले बसोबास गरिरहेको डेराभन्दा अलग कोठा भाडामा लिएर लागुऔषध भण्डारण तथा कारोबार गर्दै आएका थिए।
निकु राईले बालाजुस्थित गंगाहल नजिक लिएको कोठाबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र करिब १२.५ किलो गाँजा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, कुंगा र पदमले भाडामा लिएको कोठाबाट बुप्रेनोर्फिन, डाइजापाम र फेनार्गन गरी जम्मा ३१ हजार १०१ एम्पुल लागुऔषध बरामद गरिएको छ।
हाल पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
                    
                                        
                                                                                                
        








        




























