विराटनगर— सुनसरी र झापाबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
सुनसरीको इनरुवा नगरपालिका–६ मा चेकजाँच गर्दा प्रहरीले इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादवलाई ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र ३,६९४ क्याप्सुल नियन्त्रित औषधीसहित पक्राउ गरेको हो।
त्यसैगरी, अस्थायी प्रहरी चौकी बरगाछीले इनरुवाकै २१ वर्षीय विश्व लिम्बुलाई ९३० चक्की नियन्त्रित औषधीसहित नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी अमरहाटले भने धनकुटा साँगुरीगढी गाउँपालिका–४ का ३२ वर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय बुधबारेले झापा बुद्धशान्ति गाउँपालिका–३ का २२ वर्षीय साजन मगरलाई ६३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरू विरुद्ध लागू औषधसम्बन्धी ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।