काठमाडौं— काठमाडौंको भुपिशेरचन्द मार्गस्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३१, भुपिशेरचन्द मार्ग बसोबास गर्ने ६३ सावित्री श्रेष्ठ, मोरङ विराटनगर घर भई हाल ललितपुर नगरपालिका–९, मङ्गलबजार बस्ने ५८वर्षीया लिला श्रेष्ठ, काठमाडौं महानगरपालिका–२०, चिकमडल बस्ने ६७ वर्षीय विष्णुनाथ ढुंगाना, चितवन भरतपुर घर भई हाल ललितपुर विनायक कोलोनी बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र मोरङ विराटनगर महानगरपालिका–१० बस्ने ४३ वर्षीया बिपुल श्रेष्ठ रहेका छन् । 

शुक्रबार साँझ ५ः५० बजे विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१, भुपिशेरचन्द मार्गस्थित घरमा छापा मारेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको साथबाट रु ८५ हजार ६ सय २० नगद र ६ बुक तास बरामद गरिएको छ।

घटनाबारे थप विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।