झापा — खुला सीमाका कारण लागुऔषधको ओसारपसार बढेपछि प्रहरीले झापामा कारोबारी र प्रयोगकर्ताविरुद्ध कडा अभियान सुरु गरेको छ। पछिल्लो समय विर्तामोड–५ मा एक लाखभन्दा बढी क्याप्सुलसहितको गोदाम फेला परेपछि प्रहरीले यसलाई महत्त्वपूर्ण सफलताका रूपमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी अभियोगमा ५५९ जना पक्राउ परेका छन् भने ३४६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष यो संख्या ४६२ थियो, जुन १६.५ प्रतिशतले वृद्धि भएको हो।
इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार विर्तामोड नगरपालिका–५ मा अवस्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा भाडामा लिइएका दुई कोठामा ठूलो मात्रामा लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको फेला परेको हो।
अनुसन्धानका क्रममा ती कोठा विनोद घिमिरे र भानुभक्त खरेल नामका व्यक्तिका रहेको खुलेको छ। खरेलले विर्तामोडमा ‘सनलाइट फर्मा’ नामक औषधि पसल सञ्चालन गर्दै आएका छन्। प्रहरीले औषधि पसलमार्फत गोदाम सञ्चालन भएको पाइएको जनाएको छ।
भण्डारण गरिएका ती लागुऔषधहरू इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमलगायतका पहाडी जिल्लामा आपूर्ति हुने गरेको अनुमान गरिएको छ। भारतसँग १४४ किलोमिटर लामो खुला सिमाना भएकाले झापामा लागुऔषधको रोकथाम चुनौतीपूर्ण बन्न पुगेको हो।
प्रहरीको "की जेलमा, की सुधार केन्द्रमा" अभियान अन्तर्गत पछिल्लो एक वर्षमा पक्राउ परेका १४० जना प्रयोगकर्तालाई अभिभावकको सहमतिमा सुधार गृहमा पठाइएको छ। साथै विद्यालय र समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर दुर्व्यसनका असरबारे जानकारी दिइएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर चालु आर्थिक वर्षमा २,०३७ जनाविरुद्ध कारबाही गरिएको छ भने २२ हजार किलो गाँजा र ४ किलो ब्राउन सुगर बरामद गरिएको छ। त्यसमध्ये १,६५१ किलो गाँजा र २.८८२ किलो ब्राउन सुगर झापा जिल्लाबाट मात्र बरामद भएको छ।
झापाको मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकवलमा लागुऔषध कारोबार बढी हुने गरेको प्रहरीको भनाइ छ। मेचीनगरको काँकडभिट्टा नाकाबाट भारतसँगको आवागमन खुलेको हुँदा दैनिक रुपमा लागुऔषधसहित व्यक्तिहरू पक्राउ पर्ने गरेका छन्।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा निगरानी बढेपछि कारोबारीहरूले शहरमै गोदाम खडा गरेर कारोबार गर्न थालेका छन्, जसले अवस्थालाई थप जटिल बनाइरहेको छ।