काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेकी छन्।
कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय अहिलेसम्म खुलेको छैन। घटनास्थलमा अहिले स्थानीयको भीड लागेको छ भने महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार महिला झुन्डिएको अवस्थामा फेला परेपछि घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको छ। मृतकको पहिचान खुलाउन र घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
स्थानीय बासिन्दाले बिहान खेल मैदानतर्फ जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।