काठमाडौं— राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हाल राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ। विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा प्रणालीको क्षमता विस्तारका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको हो।
विभागका सूचना अधिकारी शिवराज सेढाईंले प्रणाली मर्मत कार्य सम्पन्न नभएसम्म विभागका तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहने जानकारी दिएका छन्।
'प्रणालीको मर्मत कार्य पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहनेछन्,' सेढाईंले बताए।
सेवाग्राहीहरूलाई असुविधा भए पनि मर्मतपश्चात सेवा नियमित रूपमा पुनः सुचारु गरिने विभागले स्पष्ट पारेको छ। साथै, सेवा अवरुद्धबारे जानकारी लिएर मात्र सेवा केन्द्रमा जान विभागले अनुरोधसमेत गरेको छ।