जनकपुरधाम— धनुषाको मिथिला नगरपालिका–८ स्थित एक विद्यालयको कक्षा कोठामा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

जनता राष्ट्रिय आधारभूत विद्यालय, जमुनिबासको बाल विकास कक्षा कोठामा ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगरको शव गत साउन १ गते बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनी सोही विद्यालयमा बाल विकास कक्षामा अध्यापन गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार मृतक मगरले जनकपुरधाम उपमहानगरपालिका–९ निवासी ५५ वर्षीय राजकिशोर यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण तिरेको भए पनि यादवले खाली चेकमा ४५ लाख रुपैयाँ लेखेर बार्गेनिङ गर्दै मानसिक दबाब दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले घटनास्थलमा राखिएको स्कुटरको डिक्कीबाट सुसाइड नोट बरामद गरेको छ। आत्महत्या दुरुत्साहन मुद्दामा यादवलाई साउन २ गते पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

अनुसन्धानका क्रममा यादवले मृतकलाई बारम्बार धम्की, मानसिक यातना र बेइज्जतीको चेतावनी दिएको पुष्टि भएको छ। साथै, यादवको घरबाट अन्य व्यक्तिहरूको नाममा भएका ९ वटा तमसुक, २३ थान जग्गाधनी प्रमाणपत्र, बैंक भौचर र चेकहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

परिवारका अनुसार यादवले असार ३२ गते मृतकको घरमै पुगेर पैसाको दबाब दिएका थिए र नतिरे चेक बाउन्स मुद्दामा फसाउने धम्की दिएका थिए। मगरले ऋण लिएको विषय परिवारका केही सदस्यलाई मात्र जानकारी थियो।