विराटनगर— प्रदेश १ का विभिन्न जिल्लाबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, सुनसरी र धनकुटामा गरिएको छुट्टाछुट्टै अपरेशनमा उनीहरू पक्राउ परेका हुन्।

झापाको गौरादह नगरपालिका–१ मा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय लुखीराम बास्की र १८ वर्षीय करण यादवलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यस्तै, सुनसरीको धरान–१३ मा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले ईटहरी–७ का २४ वर्षीय सुरेश खत्वे र ईटहरी–८ का २० वर्षीय तुलसी पासवानलाई ९ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।

सुनसरीकै इटहरी–२ का २३ वर्षीय आकाश भण्डारीलाई सामुदायिक प्रहरी बिट हवाईचोकले १०० क्याप्सुल ट्रामाडोल र ११० ट्याब्लेट स्पासपेनसहित पक्राउ गरेको हो।

यस्तै, धनकुटाको चौविसे गाउँपालिका–५ मा इलाका प्रहरी कार्यालय राजारानीले २५ वर्षीय सौगात मगरलाई प्रतिबन्धित औषधि १०४ ट्याब्लेटसहित उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।