इटहरी— सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न पेसामा आबद्ध व्यक्तिको नक्कली आवाज बनाएर दुःख दिँदै आएका राजकुमार तिम्सिना सुनसरीको इटहरीबाट पक्राउ परेका छन्।

सञ्चार उद्यमीदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मको झुठो आवाज प्रकरणमा जोडिएका तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, झुठो आवाज बनाएका तिम्सिनालाई सर्वोच्च अदालतले ६ महिनाको कैद सजाय तोकेको थियो। गत वर्ष असोजमा कैद सजाय तोकिएका उनी त्यसयता फरार अवस्थामा रहेका थिए।

तिम्सिनाले सञ्चार उद्यमीदेखि न्यायाधीशसम्मका झुठो आवाज बनाएर ‘डार्क फाइल’ नामबाट अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए। उनलाई एक महिलासँगको आर्थिक लेनदेन विवादका कारण इटहरीको पचरुखी चोकबाट प्रहरीले पक्राउ गरेको हो।

ललितपुरको गोदावरी नगरपालिका घर भएका तिम्सिना अदालतको फैसलापछि पूर्वी क्षेत्रमा लुक्दै आएका थिए। अदालतको फैसलाअनुसार प्रहरीले तिम्सिनालाई कारागार पठाउने जनाएको छ।