सुनसरी— सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा छोराले आफ्नै बुवालाई छुरा प्रहार गर्दा मृत्यु भएको छ । ६० वर्षीय सचिव अंसारीको आफ्नै छोरा मोहम्मद रियाज अंसारीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मोहम्मदले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका सचिव अंसारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले घटनापछि अभियुक्त मोहम्मद रियाज अंसारीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।