सप्तरी— सप्तरीको राजगढ गाउँपालिकामा दुई जनाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ।

राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलमा बुधबार एक पुरुषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार शव स्थानीय गुलाब सिंहको धानखेतमा भेटिएको हो। करिब ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् भने मृतकको पहिचान खुल्न सकेको छैन।

प्रवक्ता बस्नेतका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने खालको लुगा लगाएका थिए। शवको पहिचान तथा मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, राजगढ गाउँपालिका–३ मा मङ्गलबार अर्को युवकको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतक विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव हुन्। यादवको शव ससुराली घरमा झुन्डिएको अवस्थामा फेला परेको हो।

शव परीक्षणका लागि धरान पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सप्तरी प्रहरीले कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खडक नगरपालिका–९ का मो. अकतर (अख्तर) र छिन्नमस्ता गाउँपालिका–३ का सनोज कुमार यादव छन्।

मो. अकतरलाई कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद सजाय तोकिएको थियो भने यादवलाई डाँका चोरी मुद्दामा एक वर्ष एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

फरार रहेका दुवैलाई बुधबार नियन्त्रणमा लिइ सप्तरी जिल्ला अदालत राजविराजमा पेश गरिएको प्रहरीले जनाएको छ।