दोलखा— वैदेशिक रोजगारीका लागि घरबाट टाढा गएका दोलखा तामाकोसी गाउँपालिका–६, च्यामा निवासी अर्जुनप्रसाद आँपागाईंको पोर्चुगलमा रहस्यमय मृत्यु भएको छ।
३३ वर्षीय आँपागाईं आइतबार बिहान पोर्चुगलको बेजा जिल्लास्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। नेपाली साथीहरूले मृत अवस्थामा देखेपछि घटनाको खबर उनका भाइ शिवजी आँपागाईंलाई गराएका थिए।
करिब साढे ३ वर्षअघि श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका अर्जुन केही महिनामै पोर्चुगल छिरेका थिए। उनी त्यहाँको एक एजेन्ट कम्पनीमा श्रमिकका रूपमा काम गर्दै आएका थिए।
मृतक अर्जुनका वृद्ध बाबुआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन्।






































