काठमाण्डौ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।
पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।
आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।
हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ । औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।
पितृसम्मान
यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ।
मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष जयराम महतले जानकारी दिए। यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ। बेत्रावतीमा पनि पिता दिवंगत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन्।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।
आजको दिन थोरै दान गरेपनि हजारौं गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए। अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।
मोती जयन्ती मनाइँदै
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औं जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
विसं १९२३ साल भाद्रकृष्ण कुशे औंसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औंसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए। यही छापाखानामार्फत् नेपालमा पत्रकारितको सुरुआत् भएको हो।
दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ।