काठमाडौं ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएपछि अहिले प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल एकै मोर्चामा उभिएका छन् । बाढीमा फसेका नागरिकको उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन र जोखिममा रहेका बस्तीको सुरक्षाका लागि सुरक्षाकर्मी दिनरात परिचालित छन् ।

बाढीको भेलले सडक, पुल, बस्ती र संरचना बगाएको अवस्थामा उद्धार आफैंमा चुनौतीपूर्ण बनेको छ । कतिपय ठाउँमा पैदल पुग्न कठिन छ भने कतिपय क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । यस्तो अवस्थामा नेपाली सेनाले जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार अभियान अघि बढाइरहेको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा राहत व्यवस्थापनमा सहजीकरण गरिरहेका छन् ।हिजो कर्तव्यमा खटिएका प्रहरीमाथि ढुंगा–मुढा गर्ने, बर्दी खोल्न बाध्य पार्ने र अपमान गर्ने दृश्य देखिएका थिए । तर आज भोटेकोशीको बाढीमा दृश्य फरक छ । त्यही बर्दी नागरिकको सुरक्षाका लागि ढाल बनेर उभिएको छ ।

प्रहरीका जवान हुन् वा सशस्त्रका उद्धारकर्मी, नेपाली सेनाका सैनिक हुन्—उनीहरूका पनि आफ्नै परिवार छन् । घरमा वृद्ध आमाबुवा, श्रीमती र साना छोराछोरी छन् । तर विपद्को यो घडीमा परिवारभन्दा अगाडि आएको छ राष्ट्र र नागरिकको सुरक्षा ।कहिले बाढीमा फसेका वृद्धवृद्धालाई काँधमा बोकेर सुरक्षित स्थानमा पुर्‍याउनुपरेको छ, कहिले घाइतेलाई उद्धार गरेर अस्पताल पठाउनुपरेको छ । कतै बेपत्ताको खोजी भइरहेको छ, कतै बाढीले बगाएर ल्याएका शवको पहिचान र व्यवस्थापन । उद्धारलाई थप प्रभावकारी बनाउन ड्रोन, तालिमप्राप्त कुकुर, स्याटेलाइट फोन तथा अन्य प्रविधि प्रयोग भइरहेका छन् । कठिन भूगोल र जोखिमपूर्ण क्षेत्रमा समेत सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजी गरिरहेका छन् ।

बाढीपछि पीडितको पीडामाथि खेल्दै चोरी, लुटपाट र ठगी गर्नेहरूविरुद्ध पनि सुरक्षा निकायले कडाइ गरेको छ । उद्धारसँगै प्रभावित क्षेत्रको शान्ति–सुरक्षा कायम राख्ने जिम्मेवारी पनि सुरक्षाकर्मीको काँधमा छ । भोटेकोशीको बाढीले संकट निम्त्याएको छ, तर यही संकटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको साझा उपस्थितिले आशाको सन्देश पनि दिएको छ ।

हिजो आलोचना थियो, आज परीक्षा छ । हिजो प्रश्न उठेका थिए, आज कर्मले जवाफ दिइरहेको छ ।बाढीको भेल रोक्न नसकिएला, तर त्यसमा फसेका नागरिकलाई बचाउन सुरक्षाकर्मीको हात रोकिएको छैन ।राष्ट्र विपद्मा हुँदा सेना, प्रहरी र सशस्त्र—तीनै सुरक्षा निकाय एउटै उद्देश्यका साथ मैदानमा छन् स् नागरिक बचाउने, जीवन जोगाउने र विपद्बाट देशलाई पार लगाउने ।