नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुल र सडक बगाएपछि नुवाकोटका प्रभावित क्षेत्रमा आवतजावत र राहत पुर्‍याउन समस्या भएको छ। त्यसपछि विदुर नगरपालिका–१ र ९ जोड्ने गरी त्रिशूली नदीमा तुइन जडान गरिएको छ।

मंगलबारदेखि सञ्चालनमा ल्याइएको तुइनबाट स्थानीयको आवतजावतसँगै राहत सामग्री, औषधि र अन्य अत्यावश्यक सामान नदीपारिका बस्तीमा पुर्‍याउन थालिएको छ। बाढीले नियमित आवतजावत गर्ने पुल तथा सडक बगाएपछि तत्कालका लागि तुइन वैकल्पिक माध्यम बनेको हो।

विशेषगरी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि तथा सामग्री पुर्‍याउन तुइन प्रयोग भइरहेको छ। विदुर–१ को इन्द्रायणी चौरदेखि गुम्बासम्म करिब ३०० मिटर लामो तुइन निर्माण गरिएको छ। बाढीका कारण नुवाकोट र रसुवामा १८ वटा पक्की पुलमा क्षति पुगेको बताइएको छ। सडकबाट पुग्न नसकिने नदीपारिका बस्तीमा तत्काल आवतजावत सहज बनाउन अन्य स्थानमा पनि तुइन निर्माण गर्ने तयारी भइरहेको छ।

स्थायी समाधानका रूपमा भने नेपाली सेनाले ढुंगेबगर, त्रिशूली बजार, देवीघाट र बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माणका लागि प्राविधिक अध्ययन अघि बढाएको छ। बाढीले पुल बगाएपछि अहिले नुवाकोटका नागरिकको सहारा बनेको छ तुइन—यही बाटो भएर राहत र औषधि प्रभावित बस्तीमा पुग्न थालेको छ।