काठमाडौं— पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रहेका अर्यालसहित १२ जनाविरुद्ध अख्तियारले सुरक्षा मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइको प्रक्रियामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो।
तर, विशेष अदालतले अर्यालसहितलाई सफाइ दिएको थियो। सो फैसलाले आयोगको चित्त नबुझेपछि पुनरावेदन गरिएको हो।