पोखरा — पोखरा महानगरपालिका–१३ स्थित आर्वाको मडकेल्ना ओरालोमा सोमबार एक माइक्रोबस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेको ग १ ख ४०२७ नम्बरको बस आर्वाको मणिदीपबाट काहुँखोलातर्फ जाँदै थियो। मडकेल्ना क्षेत्रमा बस अनियन्त्रित भई सडकको दायाँतर्फको भित्तामा ठोक्किँदा बसमा सवार चालकसहित २३ जना घाइते भएका हुन्।

स्थानीय रवि बरालका अनुसार ओरालो सडकमा बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। घाइतेहरूलाई तत्काल उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ।

अस्पतालका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था सामान्य रहेकाले उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्। डिस्चार्ज हुनेमा चालक तेजबहादुर मगरसहित सिम्रन बराल, मनमाया सुनार, कविता पाण्डे, एञ्जल परियार, नानुमाया परियार, रचना बराल, दिव्यान बराल, शरद बराल र पदमराज बराल रहेका छन्।

हालसम्म अस्पतालमा उपचाररत अन्य १२ घाइतेहरूमध्ये दुईजनाको अवस्था मध्यम रहेको बताइएको छ। ती दुई घाइतेमा ६२ वर्षीय टङ्कप्रसाद देवकोटा र ५५ वर्षीया जमुना बराल छन्।

अन्य उपचाररतहरूमा अञ्जली परियार, अनिता सापकोटा, अम्बिका ढकाल, सुष्मा परियार, सुप्रिया परियार, मनशोभा परियार, कोपिला बराल, मधु अधिकारी, चन्द्र पराजुली र पार्वती बराल रहेका छन्।

दुर्घटनाको थप विवरण र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।