काठमाडौं— गएराति झापाको कन्काईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको पहिचान खुलेको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालकको मृत्यु भएको थियो भने एकै घरका चार जना घाइते भएका थिए। 

ज्यान गुमाउने भ्यान चालक झापाकै शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। परिवारका सदस्यबाट सनाखत भएपछि प्रहरीले उनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखेको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका बाँस्कोटाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  

दुर्घटनामा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्बीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। उनीहरू सबैको बीएन्डसी अस्पतालमै उपचार भइरहेको छ। 

पिकअपका चालक धनकुटाको महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएको छ।