काठमाडौं— दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन् ।
भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार राति ९ बजे तिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोट लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेका बस्नेतले चलाएको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल लामोसाँघु–जिरी सडक खण्डमा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो । मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिरिष बस्नेत गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति हुन् भने सुजन दाहाल चरिकोटस्थित एक होटलमा सवारी चालकका रूपमा कार्यरत थिए ।