विराटनगर— जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन् । महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा उनको शव फेला परेको जेलर गौरव ढुंगेलले जानकारी दिए ।
जेलर ढुंगेलका अनुसार, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फेला परेकी हुन् ।
कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई २०८१ कात्तिक ७ गते जन्म कैदको सजाय सुनाएको थियो । उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन् । भट्टराईका दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् ।
उनी र एक सन्तानको उद्धार गरिएको थियो । तर पछि अर्का नाबालकको पनि मृत्यु भएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार, उनका दुवै सन्तानको मृत्यु भएपछि जिल्ला अदालत सुनसरीले जन्मकैद सजाय सुनाएको थियो । उनीमा मानसिक समस्या देखिएको र काउन्सिलिङ समेत दिने गरेको प्रजिअ यादवले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।