भक्तपुर— खैरो हेरोइनसहित लागूऔषध कारोबारमा संलग्न एक युवक भक्तपुरबाट पक्राउ परेका छन्।
प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३ का ३० वर्षीय शरण राईलाई मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट पक्राउ गरेको हो।
राईको साथबाट प्रहरीले १० ग्राम ६४ मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। साथै, लागूऔषध तौल्न प्रयोग हुने डिजिटल तराजु समेत फेला परेको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले राईलाई नियन्त्रणमा लिएर ७ दिनको म्याद लिएर थप अनुसन्धान थालिएको बताए।
उनको विरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।