काठमाडौं— युरोप पठाइदिने प्रलोभन देखाई नेपाली नागरिकसँग ठगी गर्ने गिरोहका दुई सदस्यलाई भारतीय सुरक्षाकर्मीले नयाँ दिल्लीबाट पक्राउ गरेको छ।
दिल्ली क्राइम ब्रान्चको टोलीले ४१ वर्षीय जयकाब र ४२ वर्षीय रुपेश नाम गरेका दुई जनालाई पक्राउ गरेको हो। उनीहरूले बेरोजगार नेपाली युवा–युवतीलाई सर्बिया पठाइदिने भन्दै नयाँ दिल्लीमा बोलाएर ७० लाख भारु बराबरको ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका जयकाब भारतको उत्तर प्रदेशको बिजनौर जिल्लाका बासिन्दा हुन्। उनले नेपालसँग सीमा जोडिएको उत्तराखण्डको पिथौरागढमा अध्ययन गरेका कारण नेपाली भाषा राम्रोसँग बोल्न जान्ने र विश्वास दिलाउन सहज हुने गरेका थिए।
रुपेश भने बिहारको सिवान जिल्लाका बासिन्दा हुन्। उनी डेढ दशकदेखि ट्राभल एजेन्टको रूपमा सक्रिय थिए भने पछिल्ला चार वर्षदेखि जयकाबसँग मिलेर ठगी गर्दै आएका थिए।
राहदानी र डिजिटल प्रमाण बरामद
पक्राउ परेका जयकाबको साथबाट १३ नेपाली राहदानी र विभिन्न डिजिटल प्रमाणहरू बरामद गरिएको छ। अनुसन्धानको क्रममा उनले फर्जी भिसा बनाउने कार्यमा संलग्न रहेको पुष्टि भएको दिल्ली प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध उजुरी दिने २२ वर्षीय नेपाली युवक सुजन खड्काका अनुसार गिरोहले १९ जना नेपालीलाई युरोप विशेषतः सर्बिया पठाइदिने भन्दै ठगेका थिए।
दिल्ली क्राइम ब्रान्चले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी राखेको छ।