कञ्चनपुर— कञ्चनपुरमा लगातारको वर्षापछि उत्पन्न बाढीका कारण करिब चार दर्जन परिवार विस्थापित भएका छन्। जोगबुडा, भुलेजा तथा महाकाली नदी र खोलामा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा डुबानको स्थिति सिर्जना गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका–८ रामपुरेटापुमा २५ घरका ७० जनालाई सुरक्षित रूपमा जनज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ। त्यस्तै, वडा नं. ३ पटेराखल्लाका १५ परिवार (५५ जना) लाई पशु चौपाया र सरसामानसहित जमुना आधारभूत विद्यालयमा राखिएको छ।
भीमदत्त नगरपालिका–११ स्थित भुलेजामा पाँच घर डुबानमा परेका छन्। ती घरका बासिन्दालाई आवश्यक सरसामानसहित घरको छतमा सुरक्षित राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए।
महाकाली नदीमा पनि पानीको सतह निरन्तर बढिरहेको छ। सोमबार दिउँसो १२ बजेको मापन अनुसार नदीमा १ लाख ५१ हजार ९८ क्यूसेक पानीको बहाव पुगेको छ। जोखिम बढेपछि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ।