काठमाडौं— गायत्री साधक एंव प्रचारप्रसारक वेद प्रसाद भट्टले नयाँ पुस्तालाई योगा, ध्यान र यज्ञ जस्ता विषयमा सहभागि गराउने उद्देश्यले नौ कुण्डिय महायज्ञ आयोजना गरेको बताएका छन् ।
आइतबार कलश यात्रागरि उक्त गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको थियो । समारोह यही भदौ १५ गते आइतवारदेखि भदौ २२ गते आइतवारसम्म ३१ नम्बर वडा कार्यालय प्राङ्गणमा सञ्चालन भइरहेको छ ।
सोही क्रममा उनले नयाँ पुस्ता शाकाहारी बन्नुपर्छ र पूजापाठ गर्नुपर्छ भन्ने अवधारण बोकेर सकारात्मक उर्जा सिर्जना गर्न महायज्ञ गरेको बताए ।
उनले भने, ‘अखिल विश्व गायत्री परिवार शान्तिकुञ्ज हरिद्वारबाट गायत्र महायज्ञ हुदैँछ । नौ कुण्डिय महायज्ञ पहिलो पटक काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा जारी छ । हामीले बालबालिका, विद्यार्थी र नयाँ पुस्ताले योगा, ध्यान र यज्ञ गर्नुपर्छ भन्ने अवधारणाले सुरु गरेका हौं । नयाँ पुस्ताले साकाहारी बन्नुपर्छ, पूजापाठ गर्नुपर्छ, आचरण सही हुनुपर्छ, जीवनशैली ठिक हुनुपर्छ एवम आफूलाई कसरी नियन्त्रित गर्ने, वातावरणलाई कसरी सफा राख्ने सकारात्मक उर्जा कसरी सिर्जना गर्ने भनेर बालबालिका, युवादेखि ज्येष्ठ नागरिक सबैलाई सचेत गराउने अवधारणा पनि हो ।’
साथै, उनले नौ कुण्डिय महायज्ञले नौ वटा ग्रहलाई व्यवस्थित गर्ने भएको हुनाले पनि यसको आयोजना गरेको बताए ।
यसै क्रममा मंगलबार महायज्ञको तेस्रो दिनमा काठमाडौंकै कोसेली स्कुलका ५० जना विद्यार्थीलाई महायज्ञमा सहभागि गराइएको छ ।
साथै, हरेक दिन बिहान ७ बजे पाठ परायण, प्रत्येक दिन दिनभरि नै चरु हवन तथा यज्ञ तथा प्रत्येक दिन ४ः२५ बजेदेखि ५ बजेसम्म आरती गरिनेछ ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        