काठमाडौं— काठमाडौंको तार्केश्वर नगरपालिकास्थित फुटुङबाट एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा तार्केश्वर–१ का ४४ वर्षीय विराट सिंह लवट उर्फ 'मंगल दास', सोही ठाउँका ४४ वर्षीय राज लवट खत्री, र वडा नम्बर–७ का ३९ वर्षीय सन्तोष महर्जन रहेका छन्।
उनीहरूलाई सोमबार दिउँसो तार्केश्वर–७ निवासी राजु पण्डितलाई अपहरण गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। घटनापछि प्राप्त सूचना आधारमा करिब दुई घण्टामै पीडितको उद्धार गरिएको प्रहरी वृत्त बालाजुका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।
उनका अनुसार अपहरणको कारण आपसी जग्गा कारोबारसम्बन्धी लेनदेन विवाद रहेको छ। मंगल दासले आफूले पण्डितसँग ६३ लाख रुपैयाँ लिन बाँकी रहेको दाबी गरेका छन्। सोही पैसा नदिएपछि अपहरण गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
अपहरणपछि पण्डितलाई मंगल दासको घरमा बन्धक बनाई २ करोड २३ लाख रुपैयाँको चेक काटिएको फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।