काठमाडौं— प्रधान सेनापति अशोक राज सिग्देलले हालै पदोन्नति भएका नेपाली सेनाका दुई वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
भदौ ९ गते उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई जंगी अड्डामा आयोजित विशेष समारोहमा चिन्ह प्रदान गरिएको हो। पदोन्नतिसँगै थापा निरीक्षणाधिकृत पदमा नियुक्त भएका छन्।
त्यसैगरी, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथीमा पदोन्नति गरिएको छ। उनलाई पनि प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे।
समारोहमा बलाधिकृत, बलाध्यक्ष, विभिन्न रथी तथा अन्य वरिष्ठ अधिकृतहरूका साथै पदोन्नति भएका अधिकृतका परिवारजनहरूको समेत उपस्थिति रहेको थियो।