सुर्खेत— सुर्खेतमा नक्कली बिहे गराई विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने दुई जनालार्य प्रहरीले पक्राउ गरेको छ। उनीहरूले एउटै महिलालाई फरक–फरक व्यक्तिसँग विवाह गराइ नगद र गरगहना असुली ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफूहरू आमाबाबु र छोरीको रुपमा प्रस्तुत गर्दै विभिन्न पुरुषसँग विवाह गराउने नाटक गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
पक्राउ परेकामध्ये ४० वर्षीय गोपालकुमार विक दैलेख साँडु घर भई हाल वीरेन्द्रनगर–१० मा बसोबास गर्दै आएका छन् भने अर्की ३८ वर्षीया भविसरा रास्कोटी मगर अछामको तुर्माखाँद–३ घर भई सोही स्थानमा बस्दै आएकी हुन्।
प्रहरीका अनुसार विक र रास्कोटीले आमाबाबुको भूमिका निभाउँदै विवाहको नाटक रच्थे भने दुलही बनेकी महिलाको हाल खोजी भइरहेको छ। उनीहरूको साथबाट विवाहमा प्रयोग गरिएका लुगा, सुनका गरगहना र बिहे गर्दाका फोटोहरू पनि बरामद गरिएको छ।
उनीहरूविरुद्ध ‘आपराधिक लाभ र ठगी’ सम्बन्धी अभियोगमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।