रामेछाप— मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा शुक्रबार मन्थलीमा सचेतना ¥याली आयोजना गरिएको छ । 

मन्थली नगरपालिकाको आयोजनामा भएको प्रभात फेरी मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई मन्थली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियो । 

कोणसभामा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले सामाजिक विकृति र अपराध नियन्त्रणमा सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिए । ‘मानव बेचबिखन र ओसारपसार रोक्न सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने छ’, उनले भने । 

कार्यक्रममा मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले मन्थली नगरपालिकाले सबै वडा र विद्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिए । नगरपालिकाका सबै विद्यालयमा अतिरिक्त क्रियाकलापको रूपमा दिवसको कार्यक्रम राखिएको उनले बताए । 

¥यालीमा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत लगायतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायत कर्मचारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी लगायतको सहभागिता थियो ।