काठमाडौं— देशभरि तीव्ररूपमा फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भीषण आगलागी भयो । आन्दोलन उग्र बन्दै गएपछि आक्रोशित समूहले मन्त्री क्वार्टरमा आक्रमण गरी आगजनी गर्यो ।

सरकारी तथ्यांकअनुसार करिब १ अर्ब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्त्री क्वार्टर आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।

आन्दोलनबारे प्रतिक्रिया लिँदै नेपाल न्यूज बैंकले भैंसेपाटी निवासी शत्रुधन साहले भने, ‘यो आन्दोलन जरुरी थियो । युवाहरू रोजगारको अभावमा देश छाडिरहेका छन्, नेताहरू भ्रष्टाचारमा लिप्त छन् । यस अवस्थामा जनआक्रोश स्वाभाविक हो। तर जुन सम्पत्ति जलाइयो, त्यो सरकारी भएपनि हाम्रो हो । त्यसैले यति हिंसात्मक ढंगले जानु ठीक भएन ।’

उनले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको उल्लेख गर्दै भने, ‘दुई दिन पनि नपुग्दै सरकारले राजीनामा दियो । बंगलादेशमा यस्तो आन्दोलन महिनौंसम्म चल्यो । तर अब नेतृत्व युवाको हातमा जानुपर्छ । देशको सुरक्षा अवस्था कमजोर भएको छ, नयाँ सरकार चाँडै गठन हुनुपर्छ ।’ मन्त्री क्वाटर शान्त रहेपनि नेपाली सेनाको हेलिकप्टर मन्त्रीहरुलाई उद्धार गर्न पुगेपछि आन्दोलनकारी आक्रोशित बनेका थिए । 

सुरुमा स्थानीय महिलाहरु नै तोडफोडमा उत्रिएका थिए । पछि आन्दोलनकारीको हुल पुगेपछि सुरक्षाकर्मीहरु समेत पछि हटेका थिए ।