काठमाडौं— जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । 

जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ । 

उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ । हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं । केही झोले कार्यकर्ताहरु आएर देशको संरचनामाथि आगो लगाएका छन् ।’

यसैगरी जेनजी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए । 

त्यसैगरी, जुनाल गदालले अब यतिबेला जेनजी संयमित हुन जरुरी रहेको बताए । ‘जसरी हिजो हामीले तोडफोड गर्यौं । आक्रोशमा थियौं । अब हामी संयमित हुन जरुरी छ । आज देशमा जेन–जी युवाहरु एक भएनौं भने पुराना दलहरुलाई फाइदा हुने स्थिति छ,’ उनले भने ।

ओजस्वीराज थापाले जेन–जीले अहिले लिडरसीप लिन नसक्ने र लिन पनि नहुने बताए ।  जेन–जी अभियन्ता पुरुषोतम यादवले आफूहरुको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्कीमाथि रहेको बताए । 

हामी नेपालका अध्यक्षसमेत रहेको सुदन गुरुङले जेनजीको एक–एक थोपा रगतको बदला लिने बताए । उनले कसैलाई नछाड्ने चेतावनी दिए । 

उनले जेनजी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे । आफूले अहिलेसम्म नेपालको झण्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिलेसम्म समर्थन नरहेको बताए ।