रौतहट— गौर कारागारबाट असहज परिस्थितिको मौका छोपी भागेका कैदीबन्दीहरुलाई आफैं उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्न र राज्यलाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आग्रह गरेका छन्।
उनले भने, 'जो जहाँ हुनुहुन्छ, तुरुन्तै कारागारमा उपस्थित भइ सजाय भुक्तान गर्नुहोस्, अन्यथा थप कानुनी कारबाहीमा पर्नु हुनेछ।'
गौर कारागारमा रहेका २९१ कैदीमध्ये हालसम्म ७९ जना मात्रै फेला परेका छन्। तीमध्ये ३१ जना कारागारमै रहेका, १७ जना भारतबाट फर्किएका र ३१ जना जिल्लाभित्रै पक्राउ परेका हुन्। अझै २१२ जना फरार छन्।
प्रमुख जिल्ला अधिकारी खड्काले समाजमा शान्ति र सुरक्षाको वातावरण निर्माणमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भागेका कैदीबन्दी देखिए वा जानकारी भएमा तुरुन्तै सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेका छन्।
उनका अनुसार रौतहटको समग्र अवस्था सुधारोन्मुख छ। सदरमुकाम र चन्द्रपुर क्षेत्र शान्त बन्दै गएको र स्थानीय बासिन्दाको सहयोग उल्लेखनीय रहेको उनले बताए। निषेधाज्ञा कायमै रहेको हुँदा अत्यावश्यक कामबाहेक घरमै बस्न पनि उनले सबैलाई अनुरोध गरेका छन्।





































