काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले मुलुकको विद्यमान संकटपूर्ण अवस्थामा मानव अधिकार, लोकतान्त्रिक मूल्य र कानुनी शासनको सिद्धान्तलाई आधार मानेर समाधान खोज्न आग्रह गरेको छ।

आज आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग निरन्तर सम्पर्कमा छ। अहिलेको जटिल परिस्थितिमा संविधानमा उल्लिखित लोकतान्त्रिक मूल्य, मानव अधिकार र कानुनी शासनका सिद्धान्तहरूलाई पछ्याएर समाधान खोजिनु उपयुक्त हुन्छ भन्ने आयोगको धारणा छ।'

विज्ञप्तिमा आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति र कानुनी शासनको रक्षाका लागि आवश्यक कदम चालिने विश्वास व्यक्त गरेको छ। साथै, आयोगले अन्य सरोकारवाला निकायहरूसँग पनि नियमित समन्वय गर्दै गएको जानकारी दिएको छ।