बाजुरा— बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयको लागि वरदान सावित बनेको छ । झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयको घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।
गाउँपालिकाको समन्वय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय पुर्वाधार विकास कार्यक्रमबाट अजयखोलामा पुल बनेपछी अहिले यहाँका स्थानीय र बिद्यार्थीलाई विद्यालय जान निकै सहज हुँदै आएको छ । यो पुललाई ‘भाईरल पुल’उपनामले पनि चिन्न सकिन्छ ।
करिब २ सय ६० मिटर लामो झोलुङ्गे पुलले अहिले यहाँका बालबालिकाहरुलाई विद्यालयसम्म जान निकै सहज बनाएको हो । अहिले पुल निर्माण भएपछि गर्जे,पाते,धल्काँडा,माझपाली लगायत ठाउँका स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै राष्ट्रबाट प्राप्त हुने सेवा सुबिधा लिन वडा कार्यालय र जिल्ला सदरमुकाम मार्तडी सम्म पुग्न सहज भईरहेको स्थानीय गणेश बहादुर धामीले बताए ।
माझपाली र धल्काँडा लगायत गाउँलाई जोड्ने गरी पुल बनेपछि यहाँका स्थानीयलाई ठुलो राहत मिल्दै आएको हो । वडा नम्वर ३ मा चारवटा गाउँबस्ती छन्। ती बस्तीका झण्डै १ हजार ८ सय बढी जनसङ्ख्याले पुलको सेवा पाइरहेका छन्।
पालिकाको समन्वय,सहकार्यमा अजयखोलामा झोलुङ्गे पुल बनेपछी अहिले वडा नम्वर ३ का मात्र नभइ अन्य वडाका व्यक्तिहरुलाई पनि आउजाउमा सहज हुँदै आएको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
पुलको २०७९ मङ्सिरमा निर्माण सुरु भएर २०८१ वैशाखमा निर्माणको काम सम्पन्न गरिएको थियो । उक्त पुलको निवर्तमान प्रतिनिधि सभा सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापाले रिवन काटेर औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
पुल बनेर सञ्चालनमा आएता पनि स्थानीय कामदारले पैसा नपाएको गुनासो गरेका छन् । स्थानीयले काम गरेको पैसा अझै उनीहरुले पाँउन सकेका छैनन् । रकम भुक्तानी नहुदा समस्या भइरहेको अंसमन चन्द्रोदय जेवि निर्माण कम्पनी धनगढीका प्रतिनिधि तथा प्राबिधिक चेतन दाहालले बताए । कार्यलयबाट ५६ लाख ३० हजार भुक्तानि बाँकी रहेकाले कामदारको पैसा तिर्न नसेकेको उनले जानकारी दिए ।