इटहरी — सशस्त्र प्रहरी बलले आइतबार बिहान इटहरीमा दुई वटा ट्रकबाट करिब ५ हजार केजी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा कोशी प्रदेशस्तरीय सशस्त्र प्रहरी टोलीले राति १ः३० बजे रोकी राखेको दुई ट्रकबाट १५८ बोरा गाँजा फेला पारेको हो।

गाँजा बेवारिसे अवस्थामा एक पेट्रोल पम्पअगाडि पार्क गरिएका ट्रकभित्र लुकाइएको सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए । ‘गाँजा कहाँबाट ल्याइएको र कसको हो भन्ने खुल्न सकेको छैन,’ उनले भने, ‘ट्रकका चालकहरू भने फरार छन्।’

ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गाँजा फेला पारेको सशस्त्र प्रहरीको भनाइ छ । बरामद गरिएको लागुऔषध जिल्ला प्रहरी कार्यालय, सुनसरीलाई थप अनुसन्धानका लागि जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ।