चितवन— चितवन कारागारबाट फरार भएका कैदीबन्दीहरूमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन्।

गत बिहीबार परिवार तथा आफन्तमार्फत सम्पर्क गरिएपछि कैदीबन्दीहरू क्रमशः कारागार फर्किन थालेका हुन्। फरार भएका ७४० कैदीमध्ये २३५ जना अहिलेसम्म फर्किसकेका कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।

४६ जना महिला कैदीमध्ये २७ जना भित्रिइसकेका छन् भने अन्य केही बाहिरी जिल्लाका कारागारहरूमार्फत सम्पर्कमा आएको जानकारी ढुङ्गानाले बताए। भैरहवा कारागारमा ४ जना र दमौली कारागारमा १ जना कैदी सम्पर्कमा आएका छन्। यस्तै, अन्य कारागारहरूबाट १४ जना कैदीबन्दी चितवन कारागारको सम्पर्कमा आइपुगेका छन्।

ढुङ्गानाका अनुसार कतिपय कैदीहरू टाढाबाट आउनुपर्ने भएकाले फर्किन केही समय लाग्न सक्ने अनुमान छ। अझै करिब ५० जना कैदीबन्दी भने सम्पर्कबाहिर नै छन्।