काठमाडौं— चाडपर्व नजिकिँदै गर्दा सरकारले उपभोक्तालाई राहत दिन आजदेखि देशभर विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा सुपथ मूल्य पसल सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो। मन्त्रालयका अनुसार आम उपभोक्तालाई आवश्यक वस्तु सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले चाडपर्व अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइनेछ।
मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार पसल सञ्चालन सम्बन्धी निर्देशन सम्बन्धित संस्थाहरुलाई पठाइसकिएको छ।
खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, दाल, गहुँ, चिनी तथा गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ। यस्तै, चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाभित्र तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ।