काठमाण्डौ । गृहमन्त्री ओम प्रकाश अर्यालले पुर्वउर्जामन्त्री दिपक खड्का विदेश भागीसके भनेर अन्तर्वार्ता दिएको भोलिपल्टै दिपक खड्का आफ्नै बुढानीलकण्ठस्थित जलेको घर अगाडि फेसबुक लाइभ आएका छन् ।
पत्रकारहरूसँगको कुराकानीका क्रममा देशको पछिल्लो अवस्था र भदौ २३-२४ गतेको घटनाका विषयमा आफ्ना कुरा राखिरहेका छन् ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन शुरू गरेपछि तत्कालीन खड्का भागेको दाबी गरेका थिए ।खड्का भागेर अमेरिका पुगेको भन्दै समाचारहरू पनि आएका थिए । उनले आफू बिरामी भएपछि उपचारका लागि भारत भने गएको स्वीकार गरेका छन् ।
'आन्दोलनपछि सेनाले सुरक्षित राख्यो । त्यसपछि तराईंमा दुई/चार दिन बसें । अनि डेंगु भएपछि उपचारका लागि भारत गएको हुँ । परिवारलाई नै डेंगु भयो । उपचार गरेको रेकर्ड नै छ,' पत्रकारहरूसँग उनले भने, 'तर यहाँ अनेक हल्ला फैलाइयो । अमेरिका गयो, कहाँ-कहाँ गयो भने ।
आफूले पैतृक सम्पत्ति पनि नलिएको र आफैँले कमाएर अहिलेको अवस्थामा आएको उनले बताए । “मैले चार कक्षा पढ्दादेखि आफैँ खर्च जुटाएर पढेको हुँ । मेरो बुवाआमा जिउँदै हुनुहुन्छ सोधे हुन्छ,” उनले भने, “पैतृक सम्पत्ति लिएको छैन । घर जल्यो, उमेर छ, फेरि कमाउला । तर, घर जलेपछि परिवार भने ट्रमामा गयो ।”
सम्पत्ति शुद्धीकरणले आफूविरुद्ध अनुसन्धान सुरु गरेकोबारे आफूलाई जानकारी नरहेको र यसबारे सरकारको पत्र पनि प्राप्त नभएको उनले प्रष्ट पारे।