काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
यमपञ्चक समेत भनिने तिहारको छैटौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा. देवमणि भट्टराईले जानकारी दिए।
भाइटीका लगाउन दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि समितिले मध्याह्न ११:३९ बजेको साइत उत्तम भनी सार्वजनिक गरेको थियो ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता अनुसार बिहान ११:३९ बजे नै टीका लगाइएको थियो ।






































