रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ ।

जिपमा ११ जना सवार थिए। तीमध्ये ६ जना घाइते र २ जना सकुशल रहेका छन् । घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई रहेका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते १६ वर्षीया समया राई र १० वर्षीय उमेश राई उपचारपश्चात् डिस्चार्ज भएका छन् भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको शव महाकुलुङ आधारभूत अस्पताल, बुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिए ।