काठमाण्डौ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो। गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

नितुले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । त्यसपछि उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउन खोज्नेक्रममा गिरी पनि सामान्य घाइते भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि गिरीलाई प्रहरीले सोधपुछ गरेर छाडैको थियो । नितु पौडेलको उपचारको क्रममा मृत्यु भएलगत्तै गायक बाबुल गिरी प्रहरीको सम्पर्कमा पुगेका छन् ।

उनले अक्टोबर १२ मा सामाजिक सञ्जाल फेसबुकमा एक भावुक पोष्ट गरेकि थिइन् । जहाँ लेखिएको थियो ‘हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?’ उनको यो पोष्ट नै अन्तिम पोष्ट बनेको छ । गायिका पौडेलले पिरतीले सल्काइदेउ, सत्यराम कसम, आँखैमा प्यार मनमा तिर्सना लगायतका गीतमा श्वर दिएकी छन् ।

गायिका नितु पौडेलको मृत्युका विषयमा आफन्तले प्रहरीमा उजुरी दिएका छन् । शुक्रबार (कात्तिक ७) दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको हो । मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।