काठमाण्डौ  ।  आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईसँग सरकारले वार्ता गर्ने तयारी गरेको छ । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको थियो ।

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहरुले राखेको राजनीतिक मागहरुबारे सम्बोधन गर्नका लागि संवादको ढोका खुला राखेको र उनीहरु सँग वार्ता गर्दै संवादबाटै समस्याको समाधान गर्ने बताएका छन् ।

गृह मन्त्रीले सडकमा प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दललाई संवादमार्फत आफ्ना माग राख्न पनि आग्रह गरिएको बताए । सरकारले संवादमार्फत राजनीतिक दलका मागको सुनुवाइ गर्ने भएकाले प्रदर्शन आवश्यक नभएको पनि गृहमन्त्री अर्यालले बताए ।

दुर्गा प्रसाईंले ५ लाख मानिस सडकमा उतार्ने तयारी गरेपछि गृहमन्त्री ओमप्रकाश अर्याल त्रसित भएका छन् । उनले डराएर प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दा बालुवाटारमा दुई घण्टा छलफल भएको छ । स्रोतका अनुसार सुरक्षा निकायले प्रसाईंको आन्दोलनमा बाह्य घुसपेठ र अराजक गतिविधि हुने सम्भावना उच्च रहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए। त्यसलाई रोक्न वार्तामार्फत समाधान खोज्ने सुझाव पनि सुरक्षा निकायले प्रधानमन्त्रीलाई दिएका थिए ।