रामेछाप । वि.सं १८२४को सिन्धुलीगढीमा भएको नेपाली सेना र अङ्ग्रेज सेनाबीच युद्धमा जनस्तरबाट सहयोग गर्ने जनसेनापति स्वर्गीय रामचन्द्र कँडेलको प्रतिमा उनको जन्मथलो रामेछापको मुगिटारामा अनावरण गरिएको छ । 

कान्तिपुरका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको घेराबन्दीबाट जोगिन बङ्गालस्थित ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेका थिए । उनले अङ्ग्रेजहरूसँग सहयोगको सम्झौता गर्दै काठमाडौं उपत्यकामा कम्पनीका व्यापारीहरूलाई सहज व्यापारिक पहुँच दिन्छौँ भन्ने बाचा गरेर अङ्ग्रेज सैन्य टोली नेपाल मगाएका थिए । कप्तान किनलकको नेतृत्वमा आएको २५ सय सेनाको टुकडी भारतको पटना हुँदै तराईबाट मकवानपुर गढीबाट सिन्धुली गढी तर्फ अघि बढेको सूचना पाएपछि मुगिटारका रामचन्द्र प्रसाईँले अङ्ग्रेज सेना आएको सूचना दिँदै पृथ्वीनारायण शाहलाई त्यसलाई रोक्न अनुरोध सहितको पत्र पाएका थिए ।  

सो पत्र पाएपछि पृथ्वीनारायण शाहले युद्ध लड्न खर्च अभाव भएको भन्दै प्रसाईँसँग २ हजार रुपैँया नगद, रासन पानी र लडाकुहरूको सहयोग मागेका थिए । प्रसाईँ त्यस बेलाको २ हजार नगद, रासनपानी र ३ सय जति स्थानीय लडाकु लिएर सिन्धुली गढीको युद्धमा पृथ्वीनारायण शाहको सेनालाई सहयोग गर्न गएको लिखत कागज अहिले पनि रहेको स्थानीय दीपक प्रसाईँ बताउँछन् ।

सो युद्धमा नेपाली सेनाले जितेपछि प्रसाईँको माग अनुसार त्रिवेणी महादेव मन्दिरको नाममा गुठी स्थापना गरी मन्दिरमा नियमित पूजा चलाउने व्यवस्था मिलाएको इतिहास छ । अहिले पनि सोही गुठीबाट महादेवको पूजा चल्दै आएको छ । 

देश बनाउन र जोगाउन जनस्तनबाट राज्यलाई अतुलनीय योगदान गरेका प्रसाईँको कतै पनि चर्चा नभएपछि स्थानीय स्तरबाट उनको योगदानको कदर गर्दै मुगिटारमा मन्थली नगरपालिकाको सहयोगमा सालिक स्थापना गरिएको हो । 

सालिकको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र मन्थली नगपालिका–७ का वडाध्यक्ष भुवनहरि प्रसाईँले शनिबार अनावरण गरे । अनावरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख लब श्रेष्ठले देश बनाउन र जोगाउ रामेछापले गरेको योगदान राज्यले बिर्सिएको गुनासो गरे । उनले इतिहास लेख्नेले रामेछाप माथि अन्याय गरेको भन्दै इतिहास सच्याउनु पर्ने बताए । 

सिन्धुली गढीसँगै अङ्ग्रेजसँगको युद्धको बेलामा प्रयोग भएका रामेछापका चिसापानी, तिल्के स्थान, पकरबास गढीको इतिहासमा कतै चर्चा नहुनु, राज्यलाई आर्थिक, अन्य र लडाकुसमेतको सहयोग गर्ने रामचन्द्र प्रसाईँको समेत चर्चा नहुने रामेछाप माथि इतिहासको अन्याय भएको उनले बताए । 

कार्यक्रममा वडाध्यक्ष भुवनहरि प्रसाईँले राष्ट्र जोगाउन योगदान गर्ने रामचन्द्र प्रसाईँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताउँदै त्यसको लागि आवश्यक पहल भइरहेको बताए । स्थानीय स्तरमा पनि उनको सम्मानको लागि काम गरिने उनले प्रतिबद्धता व्यक्त गर्दै रामचन्द्र प्रसाईँको नाममा सङ्ग्रहालय निर्माणको लागि आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रभक्त सपुत जनसेनानी रामचन्द्र प्रसाईँको विसं १७७३ वैशाख पूर्णिमाको दिन रामेछापको हालको मन्थली नगरपालिका–७ भटौलीको मुगिटारमा जन्म भएको थियो भने विसं १८३१ मा निधन भएको थियो ।