फिक्कल  ।  सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२० गण हे.क्वा. काठमाण्डौ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा. पशुपतिनगरका गुल्मपतिको रुपमा कार्यरत कोईराला बुधबार बिहान करिब ११:०० बजे अचानक चक्कर लागेर आफ्नै निवासको बेडरुममा बेहोस भएका थिए ।

कोइराला बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरी फर्केका उनी कार्यालय आएपछि अकास्मात् ढलेका थिए ।  उपचारका लागि उनलाई स्थानीय पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल लगिएको थियो । चिकित्सकले बिरामीको अवस्था निकै गम्भीर भएको जनाएपछि मुटुरोग विशेषज्ञसहितको हेलिकप्टर मगाइएको थियो ।  

फिस्टेल एयरको हेलिकप्टरमा काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल लगिएका कोइरालालाई चिकित्सकले बुधबार साँझ ६ बजेतिर मृत घोषित गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । उनी एक साताअघिमात्रै पशुपतिनगरमा गुल्मपतिको जिम्मेवारी सम्हाल्न आएका थिए ।  

लम्जुङ घर भई ललितपुरको बालकुमारी बस्दै आएका कोइराला २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका थिए।डीएसपी कोइरालाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

डीएसपी कोइरालाको असामयिक निधनले सशस्त्र प्रहरी बल नेपाललाई क्षति पुगेको सम्बन्धित निकायले जनाएको छ। निधनप्रति सशस्त्र प्रहरी बल नेपालले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।