काठमाण्डौ । हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने नारासहित विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । 

नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरूवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक हो। ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानले नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने भन्दै २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरेको छ । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो,  यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको छ । 

विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रूपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।