काठमाण्डौ । सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ । 

बुधबार राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरी बाताएको छ। सुनसरीका डीएसपी चन्द्र खड्काको अनुसार घटनास्थलमा गोलीका खोका फेला परेको छ । 

मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको र साहको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ । साहको मृत्यु भएपछि आक्रोशित भिडले शव उठाउन दिएको छैन । 

साहले सिटी रिक्सामा चिनी, सरफ लगायत सामान ल्याउँदै गरेको देखिएको डीएसपी खड्काले बताए । उनका अनुसार घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ । गोली कसले हान्यो भन्ने बारेमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले बताएको छ।