भद्रपुर  ।  काठमाडौँबाट झापाको चन्द्रगढी (भद्रपुर) विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट करिब २०० मिटर बाहिर खोल्सामा पुगी दुर्घटनाग्रस्त भएको छ।

घटना लगत्तै सुरक्षा निकाय, विमानस्थल प्रशासन र उद्धारकर्मीहरूको सक्रियतामा जहाजमा सवार चालक दलका सदस्यसहित कुल ५५ जनाकै सकुशल उद्धार गरिएको छ। यस घटनामा कुनै पनि मानवीय क्षति भएको छैन। 

काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए।

उक्त जहाजमा ५१ जना यात्री, ४ जना चालक दलका सदस्य थिए। तीमध्ये ललितपुर-४ निवासी को-पाइलट सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्री घाइते भएका छन।

घाइतेहरुमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको छ। टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ। 

उक्त जहाज काठमाडौँबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको हो।सबै यात्रुहरू सुरक्षित रहेकाछन र आवश्यक समन्वय भइरहेको छ।