काठमाडौं— प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले कोशीलाई १४८ रनले पराजित गरेको हो । 

२५० रनको पछ्याएको कोशी ३१.१ ओभरमा १०१ रनमा अलआउट भयो । कोशीका लागि अकिंत सुवेदीले ३०, दिपेश कँडेलले १५ र कप्तान सुजन थपलियाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । 

लुम्बिनीका लागि सन्तोष यादवले ४ विकेट लिए । सो क्रमा उनले ७ ओभरमा ११ रन खर्चेर १ मेडन ओभर पनि फाले । राजेन्द्र बमले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए । 

पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.३ ओभरमा अलआउट हुँदा २४९ रन बनायो । 

लुम्बिनीका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले १०० बलमा  ८ चौका र १ छक्का प्रहार गर्दै ९२ रन बनाएका हुन् । 

सन्तोष यादवले ४८, रञ्जित खड्काले ३५ र आकाश त्रिपाठीले १२ रन बनाए । 

कोशीका लागि सुजन थपलियाले ४ तथा दिपेश कंडेलले २ तथा प्रेम कामत र विपिन महतोले १–१ विकेट लिए । टस जितेर कोशीले पहिले फिल्डिङ रोजेको हो ।