रौतहट— प्रहरीले सवारी जाँचलाई कडाइ गर्दै कागजपत्रविहीन १५ वटा मोटरसाइकल र भन्सार छलीका सामग्री बरामद गरेको छ। गौर नगरपालिका–४ बसपार्क क्षेत्रमा गरिएको नियमित चेकिङका क्रममा ती सवारी साधन नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले बुधबार सवारी साधन जाँच गर्दा कागजपत्र नभएका मोटरसाइकल फेला पारेको थियो। बरामद मोटरसाइकलहरूको अनुमानित मूल्य करिब ११ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, भन्सार छली गरी नेपाल भित्र्याउन लागिएको करिब ७ हजार २३० रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य सरसामानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट छुट्टाछुट्टै समयमा बरामद गरिएका मोटरसाइकल र अवैध सामग्रीसहित कुल ११ लाख ७७ हजार २३० रुपैयाँ बराबरको वस्तु आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार अवैध गतिविधि नियन्त्रण गर्न यस्ता चेकिङ अभियानलाई अझै तीव्र बनाइनेछ।